दफा १९
कार्यक्रम पेश गर्ने
: (१) समितिले आफ्नोे आर्थिक वर्ष शुरू हुनु भन्दा कम से कम तीन महीना अगाडि संस्थान र त्यसका सहायक अंगहरूद्वारा आगामि आर्थिक वर्षमा गरिने कार्य सन्चालन सम्बन्धी कार्यक्रम, विकास कार्यको आय व्ययको विवरण, अरू काम कुराहरूको विवरण, पूंजी लगानी र कर्मचारीहरूको थप मद्दत चाहिने भए त्यसको विवरण सहित आर्थिक लगत प्रस्तावित गरी साधारण सभामा स्वीकृति निमित्त पेश गर्नु पर्नेछ ।
(२) कुनै आर्थिक वर्षमा संस्थानले उपदफा (१) अन्तर्गत पहिले नै पेश भई सकेको कार्यक्रममा उल्लिखित कुराहरूको अतिरिक्त अरू कुनै विशेष कार्य गर्न चाहेमा र त्यसले गर्दा प्रस्तावित आर्थिक लगतमा ठोस अदल बदल ल्याउने सम्भावना भएमा संस्थानले त्यस्तो काम कुराको पूरक कार्यक्रम र त्यस सम्बन्धमा उक्त आर्थिक सालको बाँकी रहन आएको रकम बेहोर्ने खर्च र प्राप्त गर्ने रकमको पूरक लगत साधारण सभामा स्वीकृतिको निमित्त पेश गर्नेछ ।
(३) साधारण सभाको व्यवस्था नभएसम्म समितिले उपदफा (१) र (२) बमोजिमको लगत नेपाल सरकार छेउ पेश गर्नु पर्दछ ।